मान्छेले जीवनभरको कमाई खर्चिएर बनाइने घर राम्रो र बलियो होस् भन्ने चाहाना राख्नु स्वभाविक हो। करोडौंको लगानी सुरक्षित हुनुपर्छ। तर, हामीले घर बनाउने क्रममा सानो मात्र गल्ती गर्यौं भने पनि घर बलियो नहुन सक्छ।
घर बनाउँदा निर्माण सामाग्रीहरुको छनोट, त्यसको प्रयोग र निर्माण प्रकृयामा निकै ध्यान दिनुपर्ने हुन्छ।
घर बनाउने क्रममा कंक्रिटको काम अत्यन्त महत्वपूर्ण हुन्छ। कंक्रिट भनेको सिमेन्ट, बालुवा, गिट्टी र पानीको घोल हो। हामीले मात्रा मिलाएर सबै सामाग्रीहरुको मिश्रण गर्न सक्यौं भने मात्र घोल राम्रो बन्छ। घर कति बलियो हुने भन्ने कुरा कंक्रिटको गुणस्तरले पनि निर्धारण गर्छ।
भूकम्पबाट सुरक्षित रहनका लागि पनि कंक्रिटको काम गुणस्तरीय हुनुपर्छ। कमजोर कंक्रिटिङ गरेको खण्डमा भूकम्पजस्तो प्राकृतिक घटनामा छिट्टै नै संरचना भत्किने हुन सक्छ। हुन त भूकम्पबाट सुरक्षाको लागि डन्डीको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ, तर आज हामी कंक्रिटमा आधारित भएर निर्माण कार्यको चर्चा गर्दै छौं।
घर निर्माण गर्दा जगदेखि नै कंक्रिटको काम हुन्छ। सबैलाई थाहा भएकै कुरा हो, घर बनाउँदा प्रायः सिमेन्ट कंक्रिट (सिमेन्ट, बालुवा र गिट्टिको मिश्रण) प्रयोग हुन्छ। सिमेन्ट, बालुवा र गिट्टिलाई पानीसँग घोलेर प्रयोग गरिने हुँदा यसको भौतिक अवस्था गिलो हुन्छ र यसलाई अड्याउनको लागि फर्माको सहयोग लिनुपर्ने हुन्छ।
फुटिङ, हात्तिपाइले, पिल्लरजस्ता जमिनमा बस्ने संरचनामा फर्माले दायाँ बायाँबाट सपोर्ट दिनुपर्छ भने स्ल्याब, बिम, ढलानमा तलबाट पनि सपोर्ट (टेको) दिनुपर्छ। तलबाट सपोर्ट दिँदा फर्मालाई पनि टेका लगाएर अड्याउन पर्ने हुन्छ।
यो त सबैलाई थाहा भएकै कुरा हो। तर, यसरी लगाएको टेको कति दिनपछि निकाल्न मिल्छ भन्ने प्रश्नको जवाफ भने धेरैले थाहा नहुन सक्छ। त्यसैले कसैले १४/१५ दिन र कसैले घर बलियो हुन्छ भनेर २०/२५ दिनदेखि १ महिनासम्म पनि ढलानको फर्मा (टेका) ननिकालेको देखिन्छ।
तर, त्यति धेरै डराउनु पनि पर्दैन।
भवन निर्माणको गुणस्तर राम्रो होस् भनेर नियमन गर्न नेपाल सरकारले विभिन्न कोड/नियमहरु पलना गर्नु भन्ने निर्देशन दिएको छ। नेपालमा प्रायः धेरै ठाउँमा भारतीय कोड नै अनुसरण गरिन्छ। तर, यसै बर्ष नेपाल सरकारले आफ्नै भवन निर्माण संहिता जारी गरिसकेको छ।
कंक्रिटको गुणस्तर नियमन गर्न ‘भारतिय मानक ब्युरो’ ले निकालेको आइएस ४५६ प्रयोग हुन्छ (हाल यसको नयाँ संरक्षण आइएस४५६ः२०२१ लागू भएको छ)। कंक्रिट कस्तो बनाउने, कसरी बनाउने, पानी कति हाल्ने, कंक्रिटलाई बलियो बनाउन कस्ता केमिकल थप्ने, सिमेन्ट लगायतका सामाग्री भण्डारण कसरी गर्ने, कंक्रिटको मिश्रण कसरी र के आधारमा गर्ने, फर्मा/टेका कसरी लगाउने, कंक्रिट कसरी स्थानान्तरण गर्ने, केयरिङ कसरी गर्ने, धेरै गर्मी र धेरै चिसोमा कसरी कंक्रिट प्रयोग गर्ने, कंक्रिट कति बलियो हुनुपर्ने, बिम/स्ल्याबजस्ता संरचनाका प्रकार र तिनको निर्माण कसरी गर्ने जस्ता धेरै प्राविधिक विश्लेषणको विस्तृत गाइडलाइन आइएस४५६ हो।
यो गाइडलाइन भन्दा पनि यो भवन निर्माण संहिता हो।
यहि आइएस४५६ ले ढलानमा फर्मा/टेका कति दिनसम्म राख्ने भन्ने निर्देशन दिएको छ।
सामान्य अवस्थामा र तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल नजाने समयमा ओपीसी सिमेन्टले ढलान गरेको ठाउँमा निम्नअनुसार फर्मा/टेका राख्ने र निकाल्ने गर्न सकिन्छ।
- पिल्लर, बिम र वालमा लगाएको ठाडो (भर्टिकल) फर्मा १६–२४ घण्टा पछि निकाल्दा हुन्छ ।
- ढलानको स्ल्याबको तलको फर्मा ३ दिनपछि निकाल्न पाइन्छ, तर टेका भने नहटाई सोही अवस्थामा बाँकी राख्नुपर्छ । यस्तो टेका ४.५ मिटर (करिब १५ फिट) भन्दा सानो स्ल्याबमा ७ दिनपछि र ४.५ मिटरभन्दा लामो स्ल्याब भएमा १४ दिनपछि मात्र निकाल्न पाइन्छ ।
- बिमको तलको फर्मा ७ दिनपछि निकाल्दा हुन्छ, तर फर्मा निकालेर टेका लगाई हाल्नुपर्छ । यसको टेका ६ मिटर (२० फिट) भन्दा छोटो बिममा १४ दिनपछि र ६ मिटर भन्दा लामो बिम भएमा २१ दिनपछि निकाल्न सकिन्छ ।
ओपीसी सिमेन्ट नभई अरु सिमेन्ट प्रयोग गरेको भए वा वातावरणको तापक्रम १५ डिग्रीभन्दा थोरै भएको बेला भने फर्मा/टेका केहि दिन बढी राख्नुपर्छ।
तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल नजाने समयमा:
- क्र.सं. — फर्माको किसिम — कति समयपछि निकाल्ने
- १ — पिल्लर, बिम र वालको ठाडो (भर्टिकल) फर्मा — १६–२४ घण्टा
- २ — स्ल्याबको तलको फर्मा (टेका नहटाई) — ३ दिन
- ३ — बिमको तलको फर्मा (फर्मा निकाल्नासाथ टेका लगाउनु पर्ने) — ७ दिन
- ४ — स्ल्याबको टेका
- (क) ४.५ मिटरसम्मको स्ल्याब — ७ दिन
- (ख) ४.५ मिटरभन्दा बढीको स्ल्याब — १४ दिन
- ५ — बिमको टेका
- (क) ६ मिटरभन्दा छोटो — १४ दिन
- (ख) ६ मिटरभन्दा लामो — २१ दिन
फर्मा/टेका कति दिन राख्ने र कहिले निकाल्ने भन्ने कुरा आफ्नो प्राविधिकसँगको सल्लाहमा मात्र निर्णय गर्नु उपयुक्त हुन्छ। आफ्नो निर्माणको कामको सधै इञ्जिनियरबाट सुपरिवेक्षण गराउनु होला।