Ajira Builders - Premium Construction Company in Nepal

‘फ्लोर प्लान’ गर्दा हुने यी गल्तीबाट बच्‍नुहोस्

Are you building a house ? If yes, do not repeat these common mistakes made by others during floor planning. Consult an expert!

पहिलोचोटी घर बनाउन लागेकालाई सुझाव– अनुभवी इन्जिनियरको भर पर्नुस्, जग्गाअनुसार डिजाइन गर्नुस्, वास्तुको चरक्करमा दुःख नपाउनुस्!

यदि तपाइँ आफ्नो घर सुविधासम्पन्‍न बनाउन चाहानुहुन्छ भने डिजाइनको क्रममा ‘फ्लोर प्लान’मा धेरै ध्यान दिनुपर्छ। घरको डिजाइन गर्दा फ्लोर प्लानमा चुक्नुभयो भने घर तपाइले चाहेजस्तो बन्दैन।

घरमा लिभिङ रुम, बेडरुम, बाथरुम, किचन कस्तो डिजाइन र कुन साइजको बनाउने भनेर तपाइले पहिल्यै फ्लोर प्लान बनाउनुपर्छ। यदि तपाइले अनुभवी आर्किटेकसँग गएर आफ्ना आवश्यकताहरु भन्‍नुभयो भने उसले राम्रो फ्लोर प्लानिङ गरिदिन सक्छ। दक्षता नभएका आर्किटेक्टले राम्रो फ्लोर प्लान गर्न सक्दैनन्।

अनुभवी आर्किटेकले जग्गाको आकार प्रकार अनुरुपको घर डिजाइन गरिदिन सक्छन्। तपाइको जग्गा नमिलेको भए पनि दक्ष आर्किटेकले डिजाइन गर्न पायो भने सकेसम्म राम्रा कोठाहरु बनाइदिन सक्छन्।

धेरैले फ्लोर प्लान गर्दा केही गल्तीहरु गर्ने गर्छन् जसले गर्दा घर सोँचे अनुरुपको बन्दैन्। आज हामी फ्लोर प्लान गर्दा गरिने गल्तीहरुका बारेमा चर्चा गर्न गइरहेका छौं जुन तपाइका लागि फलदायी हुन सक्छ।

१) थोरै जग्गामा धेरै कोठा खोज्‍नु

यस्तोे चाहना राख्नु घर डिजाइनको क्रममा गरिने सबैभन्दा ठूलो गल्ती हो। धेरैको चाहना हुन्छ, घरमा सकेसम्म बढी कोठाहरु होउन्। तर, सानो क्षेत्रफलको जग्गामा धेरै कोठाहरु निकाल्दा साना कोठाहरु निस्कन्छन् जुन कोठाले तपाइँको अवाश्यकता परिपूर्ति नगर्न सक्छन्।

ग्राहकले सानो क्षेत्रफलमा पनि धेरै कोठा खोजेमा आर्किटेकले राम्रो फ्लोर प्लान गर्न सक्दैनन्। आर्किटेकले ग्राहकले भनेजति कोठा निकाल्दा साँघुरा र नमिलेका कोठाहरु बन्‍न जान्छन्। कोठा सानो र अँध्यारो हुन्छन। खुलापन हुँदैन। त्यसैले घरको डिजाइन गर्दा अनुभवी आर्किटेक्टको सुझाव लिनुपर्छ।

२) वास्तुमा बढी झुकाव

सबै जग्गामा वास्तु सत् प्रतिशत मिलाउन सकिदैन। सानो जग्गामा धेरै वास्तु मिलाउन खोज्दा घर बिग्रिने सम्भवना रहन्छ। कतिपय अवस्थामा तपाइको जग्गाको आकार प्रकार अनुसार घरको डिजाइन गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा बास्तु नमिल्न पनि सक्छ।

तपाइ हामीले घर बनाउँदा किचन, ट्वाइलेट र भर्‍याङमा बास्तु मिलाउनुपर्छ, अरुमा सम्भव भएमात्र वास्तु मिलाउने हो। वास्तुको चक्करमा फसेर आफ्नो सपनाको घर बिगार्नु हुँदैन।

३) सस्तो ठाउँ वा आफन्तकहाँ डिजाइन बनाउन खोज्‍नु

सबैले यो बुझ्नु जरुरी छ कि, जस्तो नक्सा/डिजाइन तयार भयो त्यस्तै घर बन्‍ने हो। त्यसैले घरको नक्सा डिजाइन गर्दा धेरै ध्यान दिनुपर्छ। मान्छेले एक करोडको घर बनाउँदा नक्सा डिजाइनमा एक/डेढ लाख रुपैयाँ खर्च गर्न डराउँछन्। तपाइले डिजाइन राम्रो बनाउनुभएको छ भने मात्र घर राम्रो बन्‍ने हो।

त्यसैले घर बनाउनुपूर्व दक्ष आर्किटेकबाट डिजाइन गराउनुपर्छ। एक करोडको घर बनाउँदा डिजाइनमा एक/डेढ लाख खर्च हुनु नराम्रो होइन। मान्छेले एक/डेढ लाख खर्च गर्न डराएर आफन्त वा सस्तोमा काम गर्ने डिजाइन खोज्दै हिँड्छन्।

सस्तोमा नक्सा बनाइदिने खोज्दा घर कामै नलाग्‍ने गरी डिजाइन भएको हुन सक्छ। राम्रो आर्किटेक्ट नहुँदा ग्राहक ठगिने वा राम्रो सेवा नपाउने अवस्था हुन्छ। सिकारु मान्छेले नक्सा डिजाइन गर्दा करोडौं खर्च गरेर बनाएको घरबाट पनि सन्तुष्‍टि नमिल्न सक्छ।

मान्छेले मेरो आफन्त वा चिनेको मान्छे इञ्‍जिनियर छ, उसैलाई घरको डिजाइन बनाउन दिन्छु भन्‍ने प्रवृत्ति पनि छ। तपाइले चिनेको इञ्‍जिनियर सडक, पुल वा हाइड्रोपावर क्षेत्रको भएमा उसलाई घर डिजाइनको राम्रो जानकारी नहुन सक्छ।

यो पेटको डाक्टरसँग मुटु जँचाउन गएजस्तो हुन्छ। त्यसैले घरको डिजाइन यसै क्षेत्रमा जानेको बुझेको र प्रोफेसनल आर्किटेक्टसँग गराउनुपर्छ। नक्सा घरको ब्लु–प्रिन्ट हो। यदि नक्सा नै राम्रो भएन भने कसरी घर राम्रो बन्ला?

४) फ्रिल्यान्सरको भर पर्नु

प्लानिङको काम आर्किटेक्ट र स्ट्रक्चर डिजाइनको काम सिभिल स्ट्रक्चरल इञ्‍जिनियरले गर्नुपर्छ। एकल रुपमा काम गर्ने फ्रिल्यान्सरको पुरै भर पर्दा यदि इञ्‍जिनियर रहेछ भने प्लानिङदेखि सबै काम उसैले गर्दा घरको प्लान नराम्रो बन्‍न सक्छ वा जस्तो बन्‍न सक्थ्यो त्यस्तो नबन्‍न सक्छ। यदि फ्रिल्यान्सर आर्किटेक्ट रहेछ भने घरको स्ट्रक्चर डिजाइन पनि भूकम्पीय हिसावमा सुरक्षित बन्दैन। फ्रिल्यान्सरलाई काम दिँदा कुन काम कसलाई गराएको छु भनेर बिचार पुर्‍याउनु पर्छ।

५) स्थानीय सरकारको नियम थाहा नपाउनु

हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भवन निर्माण मापदण्ड बनाएका हुन्छन्। त्यो मापदण्ड पहिल्यै थाहा पाउनुपर्छ। नगरपालिकाले कस्तो घर बनाउन दिन्छ? भनेर थाहा नभएमा पछि दुःख पाउन सकिन्छ। कतिपय नगरपालिका अनुसार नियम पनि फरक–फरक हुन्छन्।

६) मजदूर/ठेकेदारलाई विज्ञ मान्‍नु

ग्राहकले गर्ने अर्को गल्ती मजदूर वा ठेकेदारलाई विज्ञ मानेर घरको जिम्मा लगाउनु हो। धेरैले अनुभवि इञ्‍जिनियर/आर्किटेक्टलाई भन्दा ठेकेदारलाई बढी विश्‍वास गरिरहेको पाइन्छ। कतिपयले ठेकेदारको सल्लाहमा आर्किटेकले तयार पारेको नक्सा पनि फेरबदल गर्ने गर्छन्। यो गलत हो।

७) नचाहिने ठाउँमा खाली राख्‍नु

ट्वाइलेटलाई राख्‍न मिल्ने ठाउँमा नराखी वास्तु लगायतको बाहनामा ठाउँ परिवर्तन गर्दा कतिपय अवस्थामा घरमा खाली ठाउँ राख्नुपर्ने हुन्छ। जसले गर्दा धेरैजसो घरको नक्सा नै बिगार्न सक्छ। त्यसैले फ्लोर प्लान गर्दा दैनिक सुविधा उपयोगको दृष्‍टिले धेरै कुरा प्लान गर्नुपर्छ, वास्तुको भरपर्दा दैनिक उपयोगको दृष्‍टिकोणले असजिलो फ्लोर प्लान बन्‍न सक्छ।

८) आफै नक्सा कोर्न अघि सर्नु

इञ्‍जिनियर र आर्किटेक्ट भवन निर्माणका विज्ञ हुन। सही वा गलत, राम्रो वा नराम्रो भन्‍ने ज्ञान इञ्‍जिनियरलाई भन्दा बढी घर मालिक, मजदूर वा ठेकेदारलाई हुँदैन। आफै नक्सा बनाउनु वा यस्तै नक्सा बनाइदिनु भन्‍नु भन्दा पनि आफ्नो आवश्यकता र सोँच यस्तो छ, यसमा के राम्रो र के नराम्रो होला भनी विज्ञको सल्लाह बमोजिम नक्सा बनाउन दिँदा राम्रो हुन्छ।

आफ्नो इञ्‍जिनियर र आर्किटेक्टलाई विश्‍वास गर्नुपर्छ। तपाइको घर राम्रो बन्दा जस पाउने डिजाइनरले नै हो। त्यसैले एउटा अब्बल इञ्‍जिनियर र आर्किटेक्टले सधै तपाइँको घर राम्रो बनोस् भन्‍ने चाहन्छ।