नक्साको डिजाइनले घर निर्माण गर्दा लागतमा पक्कै फरक पार्छ। तर, कसरी फरक पार्छ त? आज हामी तपाईंलाई नक्सा डिजाइनले निर्माण लागत कसरी फरक पर्छ भनेर विस्तृत जानकारी गराउन गइरहेका छौं।
साधारण भाषामा भन्नुपर्दा, सामान्य आम्दानी भएको एउटा व्यक्तिले आफ्नै घर बनाउन जीवनभरको कमाई खर्च गर्नुपर्छ। कतिपय अवस्थामा एउटा घर जोड्ने सपना बोकेर दौडिँदा दौडिदै उमेरले डाँडो काटिसकेको हुन्छ।
हामीले घर बनाउनुअघि केही चलाखी गर्न सकेको खण्डमा कम खर्चमै पनि घर बनाउन सक्छौं। तर, त्यसका लागि विज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ। घर निर्माणको काम गर्दै आइरहेका कम्पनीसँग परामर्श लिन सक्छौं। यस्तो परामर्शको शुल्क फरक-फरक हुन सक्छ — करिब २५,००० देखि ५,००,००० सम्म — यो तपाईंले कुन टिम रोज्नुहुन्छ, उनको अनुभव, र उनले दिने मूल्यमा निर्भर गर्छ।
हामीले जीवनभरकै कमाई लगाएर बनाएको घर कहिलेकाहीँ आफैलाई मन पर्दैन। बडा मिहेनत र मोटो लगानी गरेर बनाइएको आफ्नै घर किन आफैलाई मन पर्दैन त? यसमा विशेषगरि दुईवटा कारण हुन्छन्।
पहिलो कारण
– तपाईंले इञ्जिनियर/आर्किटेकको कुरा नसुन्नु
दोस्रो कारण
– इञ्जिनियर/आर्किटेकले राम्रोसँग घरको डिजाइन नगरिदिनु।
यदि तपाईं इञ्जिनियर वा आर्किटेकले दिएको सल्ला मान्नुहुन्न र आफै नक्सा बनाउन तम्सिनुहुन्छ भने घरको डिजाइन बिग्रने ठूलो सम्भावना हुन्छ। र, लागत पनि बढ्न सक्छ।
उदाहरणका लागि तलको नक्सा हेर्नुहोस्। यो नक्सा राम कार्की (नाम परिवतर्न)का लागि हामी (अजिरा बिल्डर्स)ले बनाइदिएका हौं। यसमा घरको देब्रेपट्टी जग्गा नै बाङ्गो भएकाले घर पनि बाङ्गो बनेको छ।
यो दुइटा डिजाइनमध्ये पहिलो डिजाइन हामीले बनाएको डिजाइन हो। दोस्रो डिजाइन राम कार्की आफैले बनाउन भन्नुभएको हो। फरक यति हो, दोस्रो डिजाइनमा पहिलोमा भन्दा ३ वटा पिलर बढि छ।
किन बढि पिलर हालियो त? राम कार्कीलाई दुईटा पिलरको बिचमा साढे १५ फिट राख्नुहुन्न(१४ फिटभन्दा बढि राख्नु हुन्न) भन्ने लाग्दो रहेछ। उहाँले कहीँ कतै सुन्नुभयो होला। हाम्रो इञ्जिनियरहरुले सम्झाउन खोज्दा उहाँले मान्नु भएन अथवा भनौँ इन्जिनियरहरुमाथि उहाँलाई त्यति विश्वास लागेन। त्यसैले उहाँको जिद्दिलाई मत्थर पार्न हामीले ३ वटा पिलर थपेर नक्सा पठायौँ।
अब ११ वटा पिलरले बन्ने घरमा १४ वटा पिलर राखेपछि लागत त पक्कै पनि बढ्ने भयो। यसमा ३ वटा बढि पिलर राख्न हामीलाई समस्या खासै हौइन, तर प्राविधिक रुपमा अनावश्यक डिजाइन गर्दा घरको लागत पनि बढेको छ। र, २ वटा रुम पनि पिलरले गर्दा अलि बिग्रेको छ।
यो त हामी आफैले राम्रो गर्न खोेज्दा पनि नसकेको उदाहरण भयो। अब तलको अर्को नक्सा हेरौँ, यो नक्सा श्यामबाबु ममहर्जन (नाम परिवर्तन )को घरको हो। तलको दुईवटा नक्सामध्ये पहिलो नक्सा श्याम महर्जन आफैले पहिल्यै अन्त कतै बनाइसक्नु भएको रहेछ। र, हामीलाई घर निर्माण गरिदिनुस् भन्दै आउनुभयो।
हामीले नक्सा हेर्यौँ। केही दिनको मेहनतपछि करिब उती नै क्षेत्रफल भएको दोस्रो नक्सा बनाएर देखायौँ। उहाँले उतिखेर पुरानो नक्सा छोडेर, नक्सा संशोधन गरेर हामीले दिएको बमोजिम नक्साको घर बनाउने निर्णय गर्नुभयो। हाल काठमाडौँ उपत्यकामा यो घर निर्माणाधिन छ।
यसमा, पुरानो नक्सामा के समस्या थियो त, बुँदागत रुपमा हेरौँ:
१) पिलरलाई सिधा ग्रिडमा नमिलाइ बनाउनु
पिलर सिधा लाइनमा मिलाएर बनाउँदा प्राविधिक रुपमा राम्रो मानिन्छ। मिल्दै नमिल्ने अवस्था बाहेक हामी बाङ्गो ग्रिड बनाउने सल्लाह दिदैँनौ।
२) कोठा सानो हुनु र कोठाको आकार–प्रकार बिग्रेको हुनु
यसको बारे त केहि भन्नु नपर्ला। पाठकले पहिलो डिजाइनमा रुम एकदम सानो भएको र घरभित्र सर्कुलेसन स्पेस नभएको थाहा पाइहाल्नुभो होला।
३) पिलरको सङ्ख्या बढि हुनु
मात्र ६१५ वर्गफिट क्षेत्रफलमा ग्रिड बिग्रेर १३ वटा पिलरको नक्सा बनेकोमा हामीले ग्रिड पनि मिलाएर जम्मा १० पिलरमा बन्ने गरि घरको डिजाइन गर्यौँ। कुन डिजाइनन राम्रो लाग्छ यहाँहरु पनि विचार गर्नुहोला।
४) जग्गाको दक्षिणपट्टी मिलेको ठाउँमा पार्किङ राख्नु
सकेसम्म रुमलाई आकार मिलाउन पायो भने डिजाइन राम्रो बन्छ। कोठा बाङ्गो–टेठो रहेछ भने बेड काहाँ राख्ने, दराज कता राख्ने, त्यसैले हामीले पहिलेको नक्सामा भएको पार्किङ हटाएर ठूलो राम्रो बेडरुम निकाल्यौं। पार्किङ घरको बाहिर उत्तर पश्चिम कुनामा बनाउने विचार गर्यौँ। सर्प पनि मर्ने लाठी पनि नभाँचिने, भएन त काइदा।
५) सानो बाथरुम
हामी नेपालीले बाथरुमलाई अलि कम नै महत्व दिन्छौ। अध्याँरो हुने ठाँउमा, सानो कुचुक्क परेको बाथरुम बनाउँछौ। ट्वाइलेट, स्नान कक्ष भनेको शरिरको विकार फालेर फुर्तिलो हुने ठाउँ हो। खुल्ला, उज्यालो र आरामदायी ट्वाइलेट बनाउनु एकदमै आवश्यक कुरा हो।
त्यसो भए इन्जिनियर/आर्किटेकले नै बनाएको नक्सामा यति समस्या किन आउँछ त?
१) नक्सा बनाउन हतार गर्नुः नक्सा त २-४ दिनमा बनिहाल्छ नि भनेर नक्सा बनाउन आउने धेरैको बानी हुने रहेछ। अनि नक्सा बन्न त धेरै दिन लाग्ने थाहा पाएपछि “ल हजुर मलाई त १ हप्तामा चाहियो जग हाल्न हतार भयो” भनेर अत्ताउने बानीले गर्दा इन्जिनियर र आर्किटेकले राम्रोसँग काम गर्न पाउँदैनन्।
२) सस्तोमा नक्सा खाेज्नुः घर बनाउने हो नक्सा जहाँ बनाए पनि भैहाल्यो नि भन्ने मानसिकता देखिन्छ। जसले सस्तोमा नक्सा बनाइदिन्छ उसकैकोमा जाँदा राम्रो डिजाइन नबन्न सक्छ। वास्तविक लिनुपर्ने शुल्कभन्दा धेरै सस्तोमा काम गर्नेले कामलाई पनि धेरै महत्व दिने कुरै भएन।
३) अनुभव नभएको इन्जिनियर र आर्किटेकले नक्सा बनाउनुः उचित अनुभव नभएका, सिकारु र नयाँ इञ्जिनियर र आर्किटेकले डिजाइन गर्दा पनि नक्सा राम्रो बन्दैन। नक्सा बनाउदा कति ज्ञान हुनुपर्छ, के–के कुरामा विचार पुर्याउनुपर्छ, घरधनीको आवश्यकता के हो भन्ने कुरा नबुझी डिजाइन गर्दा पनि नक्सा बिग्रिन्छ।
अब अर्को नक्सा हेरौँ, तलको दुइवटै नक्सा हामीले नै बनाएको हौं। यो नक्सा हरि जिसी (नाम परिवर्तन)को लागि बनाएको हो। यसमा पहिला नक्सा हामीले बनाएर दिएको हो भने विविध कारण ले हरि जिसीले नक्सा परिवर्तन गर्नुभयो। र, अन्तिममा दोस्रो नक्सा बन्यो। कुन नक्सा कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला र पहिलो वा दोस्रो नक्सामा के–कस्तो कमजोरी छन् पत्ता लगाउने जिम्मेवारी पाठकलाई नै सुम्पिएँ।
नक्सा मुल्यांङ्कन गर्दा कति क्षेत्रफल, कति पिलर, कतिको साइजको कोठा सबै मुल्यांङ्कन गर्नु होला है त।